बिर्तामोड ।
नेपालको चिया उद्योग क्षेत्रलाई बलियो बनाउने उदेश्यले प्रमाणीकरण कार्यशाला गोष्ठी झापामा सम्पन्न भएको छ । द ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) ले नेपाल सरकारसँगको सहकार्यमा हाल चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उदेश्यले बिर्तामोडमा बुधवार (आज) गोष्ठी सञ्चालन गरेको हो ।
चिया क्षेत्रको दिगोपन मूल्याङ्कन आवश्यक रहेको भन्दै जीजीजीआईले कोशी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशका चिया क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने उदेश्यले झापामा चिया उद्योगी, ब्यवसायी, किसानसँग कार्यशाला गोष्ठी गरेको हो ।
कार्यक्रममा जीजीजीआईका सिनियर अफिसर पुरुषोत्तम गुप्ताले परियोजनाको कार्य विवरण र चिया क्षेत्रमा गर्ने सहयोगका बिषयमा जानकारी गराएका थिए । चिया क्षेत्रका समस्याका बारेका राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालयका बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले चिया क्षेत्रको हालका अवस्था बताउँदै समस्या र सुधारका बिषयमा बताएका थिए । एग्रीकल्चर टेक्नोलोजी सेन्टरका इशुशंकर श्रेष्ठ र अफिसर प्रशान्त राउतले चिया क्षेत्रका समस्यालाई समाधान गर्ने उपायहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चिया उद्योगीहरुले अर्गानिक उत्पादनमा जोड दिदै बजारीकरणको उचित ब्यवस्थापन दिनुपर्नेमा जोड दिएका थिए । उद्योगीका समस्या समाधान गर्न सरकार समक्ष आग्रहसकेत गरेका छन् ।
कोशी प्रदेश कृषि मन्त्रालयका सचिव लेखराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि लिङ्देनले समस्या मात्र नभएर समाधान दिनु पर्नेमा जोड दिए । उनले जहिल्यै पनि चिया क्षेत्रमा मजदुर, मल, किसान, बजारीकरणको मात्र समस्या नदेखाउन आग्रह गर्दै उद्योगीका समस्या समाधान गर्ने उपायको खोजी गरिनु पर्ने बताए ।
कार्यक्रममा चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुली, कोशी प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालालगायतको उपस्थिति रहेको थियो ।