बिर्तामोड ।
झापाको बिर्तामोडमा दुई सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सञ्चालन गरेको शिबिरमा नगरक्षेत्रभरीबाट सञ्कलन गरेर ल्याएका कुकुरहरुको बन्ध्याकरण गरेको हो ।
बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि प्रत्येक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यसअघि नै २ हजार १ सय भन्दा बढी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिसकेको छ ।
सामुदायिक कुकुरको संख्या बढेसँगै कुकुरबाट सर्ने रेबिज लगायतका रोगहरुको जोखिम पनि बढ्दै गएपछि यसको प्रजनन्दर रोक्नका लागि कुकुर बन्ध्याकरण शिविरको आयोजना गरिएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । कुकुरलाई बन्ध्याकरणसँगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचारसमेत गरिएको छ ।
शिबिर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने संस्था हाम्रो भेटेरिनरी सेवा सहकारी र डाक्टर सिजन शैंजुलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले सहकारीका अध्यक्ष डाक्टर दिलिप सापकोटा र डाक्टर सैँजुलाई प्रशंसा पत्र प्रदान गरेकी हुन् । शिविरमा खटिएको प्राविधिक टिमलाईसमेत खदा लगाएर सम्मान गरिएको छ ।
नगरपालिकाले पशुपंछि तथा मत्स्य विकास शाखा मार्फत हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरणको लागि बजेट छुट्याउँदै आएको छ । शिविर समापन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला देवी सुनार, नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।