सुरुङ्गा ।

झापाको कनकाई नगरपालिकामा  सामुदायिक कुकुर बन्ध्याकरण तीन दिने  शिविर शनिबार (आज) बाट  शुरु भएको छ । कनकाई नगरपालिकाले गएका वर्षहरुमा जस्तै यसवर्ष पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर शुरु गरेको हो। 

तीन दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिए।

नेपाल एग्री लाईभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर ईटहरी , सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २ सय भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने  कनकाईका भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्ले जानकारी दिए । 

शिविर उद्घाटन गर्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएपनि कुकुरको प्रकोप बढेकोले  हरेक वर्ष शिविर सन्चालन गर्ने गरेको बताएका छन् । नगर प्रमुख पोखरेलले सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाइ टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा पनि राखे । 

कनकाई नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएसँगै  प्रत्येक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । गएको वर्ष दुई सय २७ वटा भन्दाबढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ । कनकाईका भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्ले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्यरुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताए । शिविरमा ४ जना डाक्टरसहित १६ जनाको टिम खटिएको छ ।

शिविर कनकाई ३ स्थित कनकाई सामुदायिक वन परिसरमा एक संक्षिप्त कार्यक्रमका विच नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, उप प्रमुख आशा शर्मा शिवाकोटी, पशुपंक्षी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेजबहादु पौडेल, भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्, वडा नम्बर २, ३ र ४  का वडाअध्यक्षहरु क्रमशः प्रताप राई , युवराज चौलागाईं , रोषन सुवेदी   कार्यपालिका सदस्य, वडा सदस्यलगायतले उपस्थिति रहेको थियो । शिविर पुस ९ गतेसम्म सञ्चालन हुने नगरका कर्मचारी विजय पाठकले जानकारी दिए ।