झापा ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ मा शनिवार (आज) भएको आगलागीमा १४ लाख रुपैयाँ क्षति भएको छ । भद्रपुर–८ स्थित मेची क्याम्पस छेउका चुडामणी उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङकी राख्नलाई फलामको रड वेल्डीङ गर्ने क्रममा आगोको झिल्को एसवाई प्यानलको फर्ममा सल्की आगलागी भएको थियो ।
निर्माणाधीन एसवाई प्यानलबाट बनेको २ वटा कोठा र टिनको छानो जलेर नष्ट हुँदा करिब १४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागी दिनको अन्दाजी ११ः५५ बजेको समयमा भएको थियो भने १२ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । भद्रपुर नगरको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।