सुरुङ्गा । 

कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीबाट उत्पादन हुँदै आएको बायोग्यास ६ महिनादेखी बालेर नष्ट गरिदै आएको छ ।  झापाको कनकाई—२ सुकेडाँगीमा रहेको कम्पनीले गत असार महिनादेखी नै उत्पादन शुरु भएको बायोग्यास उपभोक्तामा नगएर बालेर नष्ट भएका कारण सरोकारवाला अन्यौलमा छन् ।

सम्बन्धित पालिकाहरु बिचमै फोहोरमा भएको राजनीतिका कारण उपभोक्ता माझ बायोग्यास पुग्न ढिलासुस्ती भएको कम्पनीमा कार्यरत इन्जिनियर रुपक कार्की बताउँछन् । 

हाल दैनिक १५० केजीसम्म शुद्ध बायोग्यास उत्पादन भइरहेको भएपनि कम्पनीमा ग्यास स्टोर गर्न आवश्यक सामाग्रीको अभावका कारण बायोग्यासलाई फ्लेयर अथवा (बालेर नष्ट) गरिएको इन्जिनियर कार्कीको भनाई छ । शुद्ध बायोग्यास नष्ट गर्दै हाल कम्पनीमा कार्यरत प्राविधिकहरुले दैनिक आफ्नो नयाँ अनुभव बढाउँन प्रयोगात्मक कार्य गर्दै मासिक तलब खाँदै आएका छन् । कम्पनीमा हाल कामदार साथै प्राविधिक सहित १५ जना कर्मचारी कार्यरत रहेको बताइएको छ । 

हाल कम्पनीमा स्टोर गरिएका एकसय वटा सिलिण्डरमा पूर्ण रुपमा भरिएको बायोग्यास सिलिण्डरबाट समेत हरेक दिन फ्लेयर गर्दै पुनः ड्रेन गर्ने गरेको इन्जिनियर कार्की बताउँछन् । जसका कारण वातावरणमा समेत प्रत्यक्ष असर पर्ने स्थानीयबासी बताउँछन् ।   

प्लान्टको उदेश्य भनेको उत्पादन भएको बायोग्यास बेचेर आयआर्जन गर्ने भएकाले इमरजेन्सी अवस्थामा कहिलेकाही छोटो समयका लागी बालेर नष्ट गर्न सकिन्छ तर ६ महिनासम्म हरेक दिनको उत्पादन नष्ट गर्नु उपयुक्त नहुने सरोकारवाला बताउँछन् । फोहोरलाई मोहोरमा बदल्ने जनप्रतिनिधिहरुको सपना पूरा हुने अवस्थामा पुगेको  योजना यतिबेला अन्यौलमा रहेको छ । 

झापाको कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उदेश्यले कम्पनी स्थापना गरेको थियो । १७ करोड ५० लाखमा तीनवर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरी बायोग्यास संचालन गर्ने लक्ष्यका साथ पाँच वर्ष अघि डिपिआर तयार गरी काम सुरु गरेको कम्पनीमा हाल २२ करोडको बजेट खर्च भइसकेको बताइएको छ ।

निर्माणको कार्य सम्पन्न भएपनि प्रारम्भिक चरणमा सम्बन्धित पालिकाहरुबाट फोहोर नआएका कारण उत्पादनले गति लिन नसकेको कनकाई नगरपालिकाका कर्मचारी समेत रहेका कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद अधिकारी बताउँछन् । 

बायोग्यास उत्पादनका लागि विश्व बैंकको ४० प्रतिशत साथै स्थानीय पालिका सहित उपभोक्तबाट ६० प्रतिशत लगानी व्यहोर्ने सहमतिअनुसार योजना अघि बढेको कम्पनीका संचालक समितिका पूर्व अध्यक्ष मिनाल तिम्सिना बताउँछन् । विश्व बैंकले पाँच करोड ४६ लाख रुपैयाँ अनुदान दिएको प्लान्टमा हाल ७५० जनाभन्दा बढी उपभोक्ताले १० हजारदेखि एक करोड रुपैयाँसम्म  शेयर लगानी गरेको पूर्व अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

सम्झौता भए अनुसार पालिकाहरुबाट दैनिक फोहोर आउँने हो भने चार हजार घन मिटर कुहिने फोहोरमैलाको व्यवस्थापन हुन सक्ने क्षमताको डाइजेस्टर तयारी भएको बताइएको छ । डाइजेस्टरमा हाल दैनिक ८ टनसम्म गोबर साथै फोहोरमैला खपत भइरहेको बताइएको छ । जसबाट झोल साथै जैविकमल (ठोस मल) समेत उत्पादन भइरहेको छ । 

स्थानीय पालिकाहरुबाट उत्पादित फोहोर व्यवस्थापन गर्ने उद्देश्यले कनकाई–२ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी बायोग्यास प्लान्ट स्थापना गरेर फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु गरिएको हो । एलपीग्यासको तुलनामा बायोग्यास उपभोक्ताका लागि प्रतिसिलिण्डर अत्यन्तै न्युन दररेटमा बिक्रि बितरण हुने प्रवन्ध निर्देशक अधिकारीले बताए ।

। प्लान्ट सञ्चालनमा आएपछि कुहिने र नकुहिने दुवै प्रकारको फोहोर व्यवस्थापन हुने र २५ वर्षसम्म फोहोर व्यवस्थापनको चुनौती समाधान हुने स्थानीय पालिकाका प्रतिनिधिहरु बताउँछन् ।