बिर्तामोड । 

झापाको बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर शुरु भएको छ । बिर्तामोड नगरपालिकाले गएका वर्षहरुमा जस्तै यसवर्ष पनि बिहीवार अर्थात आजदेखि बन्ध्याकरण शिविर शुरु गरेको हो ।

चार दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्र भित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २ सय ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिनेछ ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएपनि कुकुरको प्रकोप बढेकोले धेरै उजुरीहरु आउने गरेको बताइन् । सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाइ टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा राखिन् ।

बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । हालसम्ममा करिब २ हजार एक सय भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ । पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख दाहालले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्यरुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताइन् । शिविरमा २ जना डाक्टरसहित १८ जनाको टिम खटिएको छ ।

शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, कार्यपालिका सदस्य सीता ढुङ्गाना, संगिता सिवा, वडा नम्बर ८ का वडा सदस्य अग्निप्रसाद सिटौला, नगरपालिकाका अधिकृत मेघराज बाँस्तोला, हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटालगायतको उपस्थिति रहेको थियो । शिविर पुस ८ गतेसम्म सञ्चालन हुनेछ ।