हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले शोक बिदा दिएको छ । पालिका अन्तरगत हल्दिबारी–२ मा कार्यरत कर्मचारीको बुधवार (हिजो) जंगली हात्तीको आक्रमणबाट मृत्यु भएपछि बिहीवार (आज) पालिका क्षेत्रभर शोक बिदा दिइएको हो । 

गाउँपालिका अन्तरगत वडा नम्बर २ हल्दिवारीमा बि.स. २०४९ सालदेखी स्थायी रुपमा कार्यालय सहयोगी पदमा कार्यरत पाथल राजबंशीको २०८० पौष ४ गते बिहान पाराखोपी चोक छेउ सडकमा जंगली हात्तीको आक्रमणबाट निधन भएको थियो ।  

पालिकाले दिवङ्गत आत्माको चीर शान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना पनि गरेको छ । 

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले सूचना जारी गर्दै आज शोक बिदा दिने निर्णय भएको जनाइएको छ । जारी सूचनामा भनिएको छ ‘बिहिबारका दिन गाउँ कार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु (अत्यावश्यक सेवा बाहेक) मा शोक बिदा गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति गाउँपालिकाको कार्यालय क्षमाप्रार्थी छ ।’