बिर्तामोड । 

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीको समृद्धिका लागि संकल्प यात्राले सकारात्मक सन्देश दिएको बताएका छन् । यात्रा कसैको विरुद्ध नभएको बताउँदै नेता पोखरेलले हालको राजनीतिक अन्यौलता, अस्थिरता, राज्यबाट जनताले पाउने सेवा प्रवाहको अवस्था बुझ्न भएको बताएका छन् । 

प्रेस चौतारी नेपाल झापाले सोमवार (आज) बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले यात्राबाट विकासको अवस्था, स्थानीय जनताको मनोभावना अवस्था वारे जानकारी लिएको र  एमालेप्रति जनताको विश्वास रहेको पाइएको बताए । ‘एमालेप्रति जनताले विश्वास गरेका छन्’ नेता पोखरेलले भने ‘जनताको विश्वासलाई मर्न दिदौन ।’

राष्ट्रिय आर्थिक विकास समृद्धिलाई जोड दिने, राष्ट्रिय एकताको भावना अभिबृद्धि गर्ने, सामाजिक सद्भावलाई अभिबृद्धि गर्ने, सामाजिक एकतालाई कायम राख्ने उदेश्यका साथ संकल्प यात्रा शुरु गरिएको नेता पोखरेलले बताएका छन् । 

ishwar pokharel

उक्त यात्राका क्रममा एमाले सरकारको पालामा घोषणा गरिएको विकास कार्यहरु भद्रगोल अवस्थामा रहेको पाइएको समेत उनले बताए । गठबन्धनको सरकारले जनतालाई सेवा प्रवाहमा समस्या पैदा गरेको, जनताको रायसुझाव लिने कार्य भएको, जनताले सेवा नपाइरहेको, विकास योजना ठप्प भएकोलगायतका बिषयमा जनतासँग जानकारी लिने कार्य गरिएको नेता पोखरेलले बताए । संकल्प यात्राले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै केही दिनमै काठमाडौंमा यात्रामा देखिएका समस्या र समाधानका बिषय सार्वजनिक गरिने उनले जानकारी दिए । 

पत्रकार सम्मेलनमा एमाले पोलिट ब्यूरो सदस्य बिशाल भट्टराई, पार्टी झापा अध्यक्ष दीपक कार्की, कोशी प्रदेश सांसद कमला थापा मगर, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायतको उपस्थिति रहेको थियो । 

गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा हिजो (आइतवार) पाँचथरको चिवाभञ्याङ पुगेर समापन भएको थियो ।