बिराटनगर। 

नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगर बिच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवालाई उपचार सेवामा २५ प्रतिशत छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवँरको प्रमुख आतिथ्यमा सोमवार (आज) सम्झौता भएको हो । प्रमुख अतिथि कुँवर र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक इन्दिरा शर्मा (बराल) बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरू (आमा, वुवा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरू) लाई उपचारको क्रममा बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुटका साथै भर्ना भई उपचार गराउँदा समेत अन्तरङ्ग विभागमा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख  छ । 

उपचारको क्रममा प्रयोग हुने औषधी र अन्य चिकित्साजन्य सामग्रीहरूमा भने छुट उपलब्ध नहुने उल्लेख गरिएको छ ।  हाललाई १ बर्षको सम्झौता अवधि रहेकोमा पुन थप गर्दै लगिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ । 

अध्यक्ष कुँवरले कार्यालय परिसरमा बृक्षारोपन समेत गरेकी छिन् । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधीकारीहरु, नोवेल मेडिकल कलेजका कार्यकारी निर्देशक राजेश नेपाल तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।