इलाम ।
इलामको रोङ गाउँपालिका–६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन् ।
वडा नं ६ मा मात्र वार्षिक आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको वडा कार्यालयले जनाएको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायत क्षेत्रमा प्रतिहेक्टर १० दशमलव तीन मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
विगतमा विभिन्न रोगका कारण सुन्तला मर्न थालेपछि किसान निराश बनेका थिए । ज्ञान केन्द्रले किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिकाबारेमा तालिम सञ्चालन गरेसँगै उनीहरूमा उत्साह थपिएको जनाइएको छ । सो वडाको करिब ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको बताइएको छ ।
इलामका विभिन्न स्थानमा गरी तीन सय ६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । होमस्टेमा बस्न आउने पाहुनालाई प्रतिकेजी रू ८० देखि ९० का दरले बेच्ने गरिएको जनाइएको छ । सुन्तला खेतीबाट वार्षिक पाँच करोडदेखि छ करोड रुपैयाँसम्म वडामा भित्रिने गरेको बताइएको छ ।
सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायत कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्न ठाउँबाट कृषि तथा बोटबिरुवा सम्बन्धी अध्ययनका लागि विद्यार्थीको समूह जाने गरेका छन् । त्यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवमासमेत प्रत्येक वर्ष लैजाने गरिन्छ ।
झापाको काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, दमक, भद्रपुर मात्र नभई हरेक गाउँगाउँमा व्यापारीले ट्रकमै राखेर ‘आयो है सलकपुरको सन्तुला’ भन्दै घुमाएर बेच्न गरेका स्थानीय बताउँछन् ।