झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित पच्चिम बस स्टेण्डबाट ज्याकेटमा ब्राउन सुगर लुकाएर काठमाडौं पठाउने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेचीनगर–१२ कालीझोडाका ३० बर्षिय राजु बिश्वकर्मा र इलाम नगरपालिका वडा नम्बर १ का २० बर्षिय दिपक दाहाल रहेका छन् । 

उनीहरुलाई बिर्तामोड पश्चिम बस स्टण्डबाट इलाका प्रहरी कार्यालय अनारमनीको  प्रहरी टोलीले शनिवार साँझ पक्राउ गरेको हो । 

 हाइस गाडीबाट काठमाडौ ज्याकेट पार्सल गर्न आएका बिश्वकर्मालाई शंका लागेर चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटमा दुलो बनाएर ज्याकेट भित्र लुकाई छिपाई राखेको प्रतिबन्धीत लागूऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ गरी सोधपुछ गर्दा उक्त सामान र ज्याकेट दिपक दाहालको भएको बताएपछि दाहाललाई समेत खोजतलास गर्ने क्रममा बिर्तामोड–१ मा फेला पारी पक्राउ गरिएको हो । पक्राउ गरिएको दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी काउर्यालय झापाले जनाएको छ ।