बिर्तामोड ।

लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोड ः उद्भव र विकास’ बारे शुक्रबार.आज) बिर्तामोडमा परिचर्चा गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लीला उदासीले ‘बिर्तामोड’ पुस्तक बिर्तामोडबासी मात्र नभएर यस क्षेत्रसँग सरोकार राख्ने सबैको सार्वजनिक सम्पत्ति भएको बताए । उनले यस पुस्तकलाई मिलेसम्म बिर्तामोड नगरपालिकाभित्र पाठ्यक्रममै समावेश गर्न जोड दिएका छन् । ‘बिर्तामोडमा बस्नेले कम्तीमा बिर्तामोडलाई बुझ्न जरुरी छ’, उनले भने, ‘त्यसका लागि यो पुस्तक पढ्न र संग्रहित गर्न आवश्यक छ ।’

कार्यक्रममा  वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले पुस्तकमा रहेका विषयवस्तु र कमी कमजोरीलाई प्रस्ट पारेका थिए । उनले इतिहास लेखन जटिल भएको बताउँदै कमीकमजोरीलाई आगामी संस्करणमा सुधार गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा लेखक संघ झापा अध्यक्ष कुमार भट्टराईले यस किसिमका पुस्तक भावी पुस्ताका लागि सन्दर्भ सामग्री हुने भएकाले लेखकले साहित्यका अन्य विधामा भन्दा बढी जिम्मेवार हुनु पर्ने बताए । कार्यक्रममा साहित्यकार भगवती ढुङ्गेलले शुभकामना मन्तव्य राखेकी थिइन् ।

वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलको अध्यक्षतामा भएको पुस्तक परिचर्चा कार्यक्रमको स्वागत सहसंयोजक केशव मैनालीले गरेका थिए भने सञ्चालन तिलक परियारले गरेका थिए ।