कालीस्थान ।
कालिकापीठ कालीस्थानको १९ औं बार्षिक अनुष्ठानको अवसर पारेर विश्व शान्तिको कामनासहित श्रीमद् ब्रह्म महापुराण एवं धनधान्याचल महायज्ञ आयोजना गरिने भएको छ ।
कालिकापीठ ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिषाचार्य पं. लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले ब्रह्म महापुराण, धनधान्याचल महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो । पुराणमा कालिका संस्कृत विद्यापीठका प्राचार्य एवं महर्षि वैदिक फाउण्डेशनका ध्यान शिक्षक वैदिक धर्मग्रन्थका ब्याख्याता विद्वद्वर आ. रघुनाथ रिजालको कथा प्रवचन रहनेछ ।
पुस ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । बैठकले उपाध्यक्ष डिल्लीराम दाहालको संयोजकत्वमा गान्धारी मिश्र, विन्दु मिश्र, रेनु बस्नेत, रुपनारायण भण्डारी, देवीमाया पोखरेल, भानु निरौला, सुरेश आचार्य सदस्य रहेको प्रचार–प्रसार समिति गठन गरेको छ ।
त्यसैगरी समितिका कोषाध्यक्ष खडानन्द खतिवडाको संयोजकत्वमा भानु निरौला सदस्य रहेको आर्थिक ब्यवस्थापन समिति, सहसचिव राम मिश्रको संयोजकत्वमा मण्डव ब्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्यमा खोमप्रसाद मिश्र लगायत रहेका छन् ।
त्यस्तै बैठकले समितिका सदस्य प्रेमप्रसाद पोखरेलको संयोजकत्वमा खाद्य ब्यवस्थापन समिति गठन गरेको छ । समितिले आवश्यकता अनुसार उपसमितिहरु विस्तार गर्दै जाने प्रचार–प्रसार समितिका संयोजक डिल्लीराम दाहालले जानकारी दिए ।
समितिका उपाध्यक्ष कर्णबहादुर तामाङको संयोजकत्वमा सुरेश आचार्य लगायत सदस्य रहेको बत्ती ब्यवस्थापन समिति गठन गरिएको छ । पूर्वको सिद्ध शक्तिपीठका रुपमा परिचित कालिकापीठ अर्जुनधारा नगरपालिका वडा नं–९ स्थित कालीस्थान चोकको उत्तर–पश्चिममा पर्दछ ।