झापा । 

‘जारी’ फिल्मले नेपाली सिनेमा क्षेत्रको धेरै रेकर्ड तोड्यो । सबैभन्दा धेरै कमाउने सिनेमा बन्यो । तर सँगै अर्को कुरा पनि भन्यो ‘नेपाली स्वादको कथा पस्कियो भने दर्शकले मनपराउँछन् ।’

फिल्मले मनग्गे दर्शक पायो । नेपाली सिनेमा जगतमा दुर्गम बन्दै गरेको ‘१०० दिन’ पनि कटायो । फिल्म उपेन्द्र सुब्बाको पहिलो निर्देशन थियो भने बाँसुरी फिल्मस् ले त्यसलाई निर्माण गरेको थियो ।

त्यसको सफलतापछि उनको अर्को फिल्म के हुनेछ भन्ने कौतुहल मेटिएको छ । सँगै कबड्डि फिल्मस् प्रालीको ब्यानरमा नयाँ फिल्म ‘मनसरा’ को पोष्टर सार्वजनिक भएपछि उपेन्द्र सुब्बाले बाँसुरी फिल्मस् छोडेको पनि छनक मिलेको छ । फिल्ममा ‘जारी’को मुख्य कास्ट दयाहाङ राई र मिरुना मगर नै दोहोरिएका छन् भने मेनुका पौडेल र प्रविण खतिवडा थपिएका छन् । लामो समयदेखि उत्कृष्ट छाँयाकारको पहिचान बनाएका सैलेन्द्र धोज कार्की निर्माताको रुपमा जोडिएका छन् । उनले नै यो फिल्म पनि खिच्नेछन् ।

पहिलो पोष्टर महिला कलाकारको अनुहार सहित निस्किनुले पक्कै पनि यो फिल्म पनि ‘जारी’ मा जस्तै महिला चरित्र प्रधान हुन सक्ने संकेत देखिएको छ । चरित्रको अनुहार थोरै मलिन छ । रातो झोला बोकाइमा कुनै बोझ बोकिरहेको छनक छ । उनी यात्रामा रहेकी जस्तो देखिन्छन् ।

फिल्म बि.स. २०८० बैशाख २१ मा सिनेमाघरमा आइपुग्ने सन्देश पोष्टरमा छ । फिल्मको मुख्य सहायक निर्देशक ‘जोखाना’, ‘खुवालुङ’, जस्ता चर्चित नाटक निर्देशक गरिसकेका निर्देशक किरण चाम्लिङ राईले गर्देछन् भने कार्यकारी निर्माता सिजन दाहालले गर्दैछन् । एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने जानकारी दिइएको छ भने डिजिटल पाटनरको रुपमा जि ट्वान्टिवान रहेन जनाइएको छ । फिल्मको लेखन उपेन्द्र सुब्बाले नै गर्दैछन् ।