विर्तामोड ।
झापाबाट नियमित रुपमा अनलाइन न्युज पोर्टलका रुपमा सञ्चालन हुँदै आएको पूर्वी गर्जन मिडिया प्रालिले पूर्वी गर्जन पत्रिकाको विशेषांक सार्वजनिकिकरण कार्यक्रममा झापाका पत्रकार नरेन्द्र ढकाललाई पुरस्कृत गरेको छ ।
बिर्तामोडमा बिहीवार (आज) आयोजित सार्वजनिकिकरण कार्यक्रममा पूर्वाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजक ढकाललाई प्रालिद्धारा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । उक्त पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य माक्र्सवादी नेता, लेखक तथा प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज अनिल विरहीले पत्रकार ढकाललाई सम्मान पत्रसहित पुरस्कृत गरेका हुन् । सोही क्रममा अर्धबार्षिक पत्रिका पूर्वी गर्जनको समेत सार्वजनिकीकरण गरिएको थियो । प्रालिद्धारा शुरु गरिएको अर्धबार्षिक पत्रिका पूर्वी गर्जनको मुख्य कार्यालय बिर्तामोडमा रहेको जनाइएको छ ।
प्रालिका निर्देशक सुमन सिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विरही, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, महासंघ प्रदेश सदस्य लीलाराज झापाली, महासंघका पूर्व केन्द्रिय सदस्य मोहनकाजी न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत प्रालिका व्यवस्थापक बिनोद सीले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश सह–निर्देशक प्रशान्त सीले पारेका थिए भने कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक प्रबिण अधिकारीले गरेका थिए ।
प्रालिले २ लाख रुपैयाँको एकीकृत जनक्रान्ति बलिदान अक्षयकोष स्थापना गरेको र उक्त कोषबाट यस बर्ष एकजना पत्रकारलाई पुरस्कृत गरेको सह–निर्देशक प्रशान्त सीले बताए । उनका अनुसार उक्त कोषमा प्रत्येक बर्ष एक लाख रुपैयाँ थप गरिने साथै आगामी बर्षदेखि एक जना पत्रकारसहित सहिद तथा वेपत्ता परिवार र अग्रज कम्युनिष्ट बामपन्थी नेतालाई सम्मानसहित पुरस्कृत गरिनेछ ।
पत्रिकामा विशेष गरी पछिल्लो समयको राजनीतिक घटनाक्रम र पूर्वी नेपालको राजनीतिक गतिविधिलगायतका विषयहरु समेटिएको कार्यकारी सम्पादक अधिकारीले बताए ।