भद्रपुर।
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यालयलाई खेल सामग्री बितरण गरेको छ ।
प्रतिष्ठानले बुधवार झापा गाउँपालिका–२ सडकबारीस्थित जुडो प्राविका ३० जना छात्रछात्रालाई न्यानो कपडा (स्वीटर) र विद्यालयलाई खेल सामग्री प्रदान गरेको गरेको हो । त्यस्तै, स्थानीय १५ जना ज्येष्ठ नागरिकलाई बर्को वितरण गरिएको संस्थाका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए। आफूहरुले समाजबाट धेरै कुरा प्राप्त गरेकाले समाजमा आफूले पनि केही योगदान गर्नुपर्छ भन्ने ध्येयका साथ न्यानो कपडा र खेल सामग्री वितरण गरिएको उनले बताए ।
जुडो प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवि थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक गोपाल गणेशले गरेका थिए भने कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता कल्पना खड्काले गरेका थिए । बढ्दो जाडोका समयमा न्यानो कपडा पाएपछि विद्यार्थी र ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।