बिर्तामोड ।
समाचारको विषयमा सञ्चारकर्मी टिकाराम बाँस्तोलालाई ज्यान मार्ने धम्की दिएकालाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल प्रेस युनियन झापा शाखाले माग गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै प्रेस युनियन झापाले बाँस्तोलालाई ज्यान मार्नेसम्मको धम्की दिएका बिर्तामोड नगरपालिका ४ निवासी गणेश गिरीसहितलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न माग गरेको हो । युनियनले यो घटनालाई स्वतन्त्र पत्रकारितामाथिको ज्यादती भएको बताउदै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
बाँस्तोला झापाबाट सञ्चालित बिर्तामोड झापा डटकमका सञ्चालक हुन् । केही दिनअघि उक्त अनलाइनमा ‘अफ्रिका पठाईदिने भन्दै लाखौं ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । प्रकाशित समाचारको विषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुबा बिर्तामोड नगरपालिका–४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अश्लिल गालीगलौजसहित ज्यान मार्ने धम्की दिएका हुन् ।
प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै सञ्चारकर्मी बाँस्तोलालाई धम्क्याएको यो घटना अत्यन्त निन्दनीय हुनुकासाथै प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्य भएको प्रेस युनियनको विज्ञप्तिमा उल्लेख छ ।