शनिश्चरे ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत झापाको अर्जुनधारामा एकीकृत विपद व्यवस्थापन केन्द्र स्थापना हुने भएको छ ।अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सक्रियतामा विपद ब्यवस्थापन केन्द्र स्थापना हुने भएको हो ।
अर्जुनधारा नगरपालिका वडा न १ मदनपुरमा केन्द्रको कार्यालय रहने निश्चित भएको छ । कार्यालय तथा भौतिक पुर्वाधार निर्माणका लागि ५ करोड मुल्य बराबरको रकम निकासा गरेर ठेक्का लगाइएको नगरका इञ्जिनियर निता नेपालले जानकारी दिइन् । सो रकमले भवन लगायतको संरचना निर्माण हुनेछ ।
एकीकृत बिपद ब्यवस्थापन केन्द्रमा दमकल, एम्बुलेन्स, शवबाहन रहनेछ । बाढीबाट हुन सक्ने क्षति न्युनिकरणका लागि आवश्यक औजार र तालिम प्राप्त जनशक्ति केन्द्रमा रहने जनाइएको छ । केन्द्रमा हेलिप्याड समेत निर्माण हुने भएको छ ।
कोशी प्रदेश सरकार र केन्द्रबाट पायक पर्ने चारवटा स्थानीय तहबीच सहकार्य प्रवर्दन गर्ने पहल केन्द्रले गर्ने छ । मुख्यमन्त्री एकीकृत बिपद ब्यावस्थापन ऐन २०७९ निर्माण भएपछि दुई वा दुईभन्दा बढी स्थानीय तहको सहभागितामा यसरी एकीकृत बिपद ब्यवस्थापन केन्द्र निर्माण हुने भएको हो ।
परियोजनाको लगानी साझेदार नेपालका लागि स्विजरल्याण्डका राजदुत डा. ड्यानिला मौलीसहित प्रदेशको टोलीको उपस्थितिमा बुधबार भएको छलफलमा परियोजनाको लागि स्थान तय गरेर काम शुरु गरिएको बताइएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देनले भवन निर्माणका लागि ठेक्का प्रक्रिया पुरा भएको बताए ।
परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, तीनवटा नगरपालिकाको २४ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको ६ प्रतिशत र स्विस सरकारको २० प्रतिशत लगानी रहने गोम्देनले जानकारी दिए ।
छलफल कार्यक्रममा अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईलगायतको सहभागीता रहेको थियो ।