मेचीनगर ।
झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्रका १५ वटै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई तिब्र पारेको छ ।
सोमबारदेखि सुरु भएको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरता दिदैं मेचीनगर ५, ६, ७ र ८ नं वडामा वितरण गरेको हो ।
मेचीनगर ५ मा अव्यवस्थित बसोबास १५१, भूमिहिन सुकुम्बासी १०१ र भूमिहिन दलित ८ गरी जम्मा २६० जना, मेचीनगर ६ मा अव्यवस्थित बसोबास २०७, भूमिहिन सुकुम्बासी २१९ र भूमिहिन दलित २१ गरी जम्मा ४४७ जना, मेचीनगर ७ मा अव्यवस्थित बसोबास २३०, भूमिहिन सुकुम्बासी २४५ र भूमिहिन दलित १३ गरी जम्मा ४८८ जना र मेचीनगर ८ मा अव्यवस्थित बसोबास १०९, भूमिहिन सुकुम्बासी १९८ र भूमिहिन दलित ४९ गरी जम्मा ३५६ जनालाई जग्गाको निस्सा वितरण गरिएको छ ।
भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थीत बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ बमोजिम यस नगरपालिकाबाट संङकलित भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीको विवरणको निस्सा वितरण कार्यक्रमलाई निरन्तरता दिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
मंसिर २९ गतेसम्म सञ्चालन हुने जग्गाको निस्सा वितरण अभियानमा मेचीनगरका १५ वटै वडाबाट अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने छन् ।
बुधबार (आज) मेचीनगर ९, १०, ११ र १२ नं वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिने कार्यक्रम रहेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।