बिर्तामोड । 

झापा बिर्तामोडका ढुवानी व्यवसायी निर्मल खत्रीले सामाजिक सेवाको लागि रकम बचत संकलन गर्दै आएका छन् । वडा नम्बर ५ शितल मार्केट स्थित भृकुटीरोडमा कार्यालय रहेको पूर्वेली ढुवानी सेवा प्रालिका सञ्चालक खत्रीले बिगत १५ दिनदेखि बाकस राखेर बचत संकलन गर्दै आएका छन् । 

उनले राखेको बाकसमा कर्मचारीहरुले आफ्नो दैनिक खर्चबाट थोरै भएपनि रकम जम्मा गर्ने गरेका छन् । बाकसमा हाल दैनिक १ हजार रुपैयाँ बचत हुँदै आएको छ । 

रकम संकलन हुँदै आएको बाकस आगामी दशैं अगाडी खोलिने खत्रीले जानकारी दिए। उनले त्यसबेला सम्ममा कम्तिमा ४ लाख रुपैयाँ संकलन गरिने र त्यो रकम सामाजिक कार्यमा खर्च गरिने बताएका छन् ।

उक्त रकम दृष्टिबिहिन, अपांगता भएका व्यक्ति, गरिब, अनाथ, वृद्धा आश्रम र दुखीहरुको क्षेत्रमा खर्च गरिने जनाइएको छ । बाकस स्थापनाको समयमा २५ जना ट्रक चालकहरुले प्रति व्यक्ति ५ सय रुपैयाँको दरले रकम संकलन गरेर जम्मा गरेका थिए । प्रालिमा अहिले ५४ जना कार्यरत छन् ।