बिर्तामोड।
मुलुक यही अवस्थामा रहे नागरिकहरु विद्रोहमा उत्रन सक्ने सोमबार बिर्तामोडमा आयोजिक एक कार्यक्रमका सहभागीले औल्याएका छन् ।नागरिकमा बढ्दो निरासा, आक्रोस, मुलुकको बेथिति समयमै हल नगरे कुनै न कुनै स्वरुपको विद्रोह जन्मने नागरिक समाजका प्रतिनिधिहरुले बताएका हुन् ।
समस्या समाधानका लागि राजनीतिक दलहरु तत्काल सच्चिएर जवाफदेही बन्नुपर्नेमा उनीहरुको जोड छ । ‘मुलुकको समसामयिक परिस्थिति र निकासको बाटो’ विषयमा संवाद समूह झापाले बिर्तामोडमा गरेको छलफलमा नागरिक समाजका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
वरिष्ठ अधिवक्ता तथा नेपाल कानून आयोगका पूर्व सदस्य लीला उदासीले मुलुक दयनीय र अप्ठेरो अवस्थामा रहेको, जनता निरास र अनिश्चयमा रहेको बताए । बेथिति बढ्दै गए विद्रोह जन्मने उदासीले बताए । उनले दलहरु सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालले मुलुकमा भ्रष्टाचार, कुशासन र दण्डहीनता बढेकाले अहिलेको अवस्था आएको बताए । लोकतन्त्रमाथि दलहरुबाटै खतरा रहेको भन्दै दलप्रतिको वितृष्णा मेट्न र मुलुकलाई निकास दिन केही समय विज्ञहरुको टिमलाई मुलुक चलाउन दिनुपर्ने धारणा राखे ।
मानव अधिकार रक्षक परिषद्का प्रदेश उपाध्यक्ष विष्णु खरेलले नागरिकमा असन्तुष्टि, आक्रोस, अन्योलताले अराजकता थपिएको बताए । अहिले बैंकका प्रबन्धकहरु असुरक्षित रहेको, विकृति बढेको उनले बताए । खरेलले पहिचानको आन्दोलनलाई सरकारले तत्काल सम्बोधन नगरे अरु आन्दोलन चर्किने र असन्तुष्ट, अराजक पक्षको घुसपैठ हुने सम्भावना औल्याए । उनले विधि, संविधानप्रति सबै जवाफदेही बन्नुपर्ने बताए ।
गैरसरकारी संस्था महासंघ झापाका सचिव विजय तिम्सिना, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा, प्याब्सन झापाका सचिव हरिकृष्ण पाठक, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तोयानाथ दाहाल, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, संयुक्त आवाजकी अध्यक्ष शिखा खड्का गणेशलगायतले सरकार, दलहरु सबै पक्ष मुलुकलाई अहिलेको संकटबाट निकास दिन जिम्मेवार हुनुपर्नेमा जोड दिए ।


















