मेचीनगर ।

 झापाको मेचीनगर नगरपालिकामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले धनिपूर्जा पाउने भएका छन् ।

नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई सोमबारदेखि जग्गाको निस्सा वितरण कार्य शुरु गरेसँगै उनीहरुले धनिपूर्जा पाउने बाटो खुलेको हो ।

विगत लामो समयदेखि विभिन्न कारणले धनिपूर्जा प्राप्त गर्न नसकिरहेका उनीहरुलाई स्थानीय सरकारको समन्वयमा अहिले प्रक्रियागत ढंगले पहिलो चरणमा जग्गाको निस्सा वितरण कार्य शुरु गरिएको छ । योसँगै अब भने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई धनिपूर्जा पाउने आश थपिएको छ ।

नगर क्षेत्रका अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने छन् । उनीहरु सबैले वडागत रुपमा मंसिर २५ गतेदेखि २९ गतेसम्ममा जग्गाको निस्सा प्राप्त गर्ने मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको बताए । छिट्टै नै उनीहरुलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यमा आफुहरु लागि परेको उनको भनाई छ ।