बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा २७ बर्षअघि स्थापना भएको गोमेन्द्र बहुमुखी महाबिद्यालयमा बिद्यार्थीको आकर्षण बढ्दै गएको छ । बिद्यार्थीले रोज्ने र खोजेको बिषयसँगै गुणस्तरीय शिक्षा महाबिद्यालयले दिने भएकाले उक्त महाबिद्यालयमा बिद्यार्थीको आकर्षण बढ्दै गएको हो । 

गोमेन्द्रमा रहेका बिषयहरु अध्ययनका लागि बिराटनगर वा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्यसँगै न्युनतम शुल्कमा, डेराभाडा नलाग्ने, आफ्नै घरमा खाएर बसेर बिद्यालयमा शान्त वातावरणमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने भएकाले पनि बिद्यार्थीको आकर्षण वढेको छ ।   

२०५३ सालमा कक्षा ११ र १२ सञ्चालनसँगै २५ जना बिद्यार्थीबाट अध्यापन शुरु गरेको महाबिद्यालयमा हाल ४ सय ५० जना बिद्यार्थी बिभिन्न कक्षा र बिषयमा अध्ययनरत रहेको महाबिद्यालयका प्रचार्य डा. रुपक खनालले जानकारी दिए ।  शिक्षासेवी गणेशप्रसाद खनाल संस्थापक रहेको महाबिद्यालय पूर्वमै पहिलो पटक कम्प्युटर साइन्स भित्र्याउने बिद्यालयसमेत भएको डा.खनालले बताए ।

२०५३ सालदेखि ०५६ सालसम्म कक्षा ११ र १२ अन्तरगत ब्यवस्थापन (कमर्स), आर्ट र कम्प्युटर साइन्स शुरु गरेको महाबिद्यालयले क्रमश २०५६ सालमा ब्यवस्थापन संकाय अन्तरगत बिबिएस, २०५८ सालमा बिज्ञान तथा प्रबिधि संकाय अन्तरगत  बिसिए, २०६२ सालमा ब्यवस्थापन संकाय अन्तरगत बिबिए गर्दै २०७९ सालदेखि ब्यवस्थापन संकाय अन्तरगत एमबिए र बिज्ञान तथा प्रबिधि अन्तरगत एमसिए बिषयमा अध्यापन गराउँदै आएको छ । 

एमबिए बिहान ९ बजेसम्म र र एमसिए बेलुका ५ बजेपछि अध्यापन हुने भएकाले उक्त बिषय अध्ययनरत बिद्यार्थीहरुले अन्य क्षेत्रमा जागिर पनि गर्न सक्ने डा. खनालले बताए । हालसम्म उक्त बिद्यालयबाट अध्ययन पूरा गरेका करिब एक हजार ६ सय ८० जना बिद्यार्थी बिभिन्न क्षेत्रहरुमा कार्यरत रहेको समेत बताइएको छ । 

प्राचार्य डा. खनालका अनुसार आगामी (०८१) को शैक्षिक सत्रदेखि बिज्ञान तथा प्रबिधि संकाय अन्तरगत ब्याचलर अफ टेक्नोलोजी आर्टिफिसियल इन्टेलिजेन्स (बि.टेक) बिषय पनि सञ्चालन हुनेछ ।  महाबिद्यालयमा झापा, इलाम, पाँचथर र नर्थ बंगालका बिद्यार्थीहरु अध्ययनरत रहेका जनाइएको छ । 

एक बिघा क्षेत्रफलमा रहेको महाबिद्यालयमा बिद्यार्थीका लागि भरिवल, क्रिकेट, टेवल टेनिसलगायतका खेल खेल्ने ठाउँ छन् भने फुटसल र बास्केटवल खेलका लागि पनि ठाउँ बनिदै गरेको डा. खनालले बताएका छन् । उक्त महाबिद्यालयमा शिक्षिक र कर्मचारी गरेर ३२ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएको बताइएको छ । 

  पछिल्ला केही बर्ष यता नेपालमा अध्ययनपछि बिद्यार्थीले आफ्नो शिक्षा र क्षमता अनुसारको काम नपाउने भएकाले पनि बिदेशिने क्रम बढ्दै गएको डा. खनालले बताए । बिद्यार्थी बिदेशीने क्रमसँगै करडौं लगानी गरेर सञ्चालनमा आएका महाबिद्यालयहरुमा बिद्यार्थीको चाप नहुँदा महाबिद्यालयहरु सञ्चालनमा समस्या हुँदै गएको डा. खनालको भनाई छ । सरकारले नेपालमै बिद्यार्थीको शिक्षा र क्षमता अनुसारको रोजगारी सिर्जना गर्न सके मात्र बिदेशिने बिद्यार्थीको संख्यामा कमी आउने उनले बताएका छन् ।