लक्ष्मीपुर।
आज पितृका नाममा झापाका बिभिन्न स्थलमा रातभर भजनकिर्तन गरी जाग्रम बसेर शतबीज छरिएको छ । बालाचतुर्दशी अन्तर्गत पितृका नाममा अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका छन् ।
प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा अनुसार आज धार्मिक स्थलहरुमा शतबीज छरिएको हो ।
सोमबार बिहान झापाको अर्जुनधारा जलेश्वरधाम, अर्जुनधारा–५ स्थित श्री नवदुर्गा पञ्चायन मन्दिर, सताक्षीधाम, बाह्रदशीको गौरीशंकर शिवालय गायत्रीस्वरुपाआश्रम, कनकाई माईको धार्मिक स्थललगायतका धार्मिक स्थलमा झिसमिसे पितृका नाममा शतबीज छरिएको छ ।
शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याइदिन अनुरोध गर्ने चलन छ । शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । आजै देशैभर रहेका धार्मिक स्थलहरुमा भक्तजनहरुले शतबीज छर्ने गरेका छन् ।