झापा । 

चिसोले कठ्याग्रीएर त्रिपालमा बसेका ३२ जना भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि पीडित बनेका उनीहरुलाई सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा गत बिहीवारसम्ममा ३२ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । 

जाजरकोटमा २७ र रुकुम पश्चिममा ५ जनाले ज्यान गुमाएका छन् । चिसो बढ्दै गएकाले यो सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार त्रिपालमुनि बसेका जाजरकोटको कुशे गाउँपालिकामा आठ, छेडागाड नगरपालिकामा ६, नलगाड नगरपालिकामा चार, जुनिचाँदे गाउँपालिकामा चार, भेरी नगरपालिकामा दुई र बारेकोट गाउँपालिकामा तीन जनाको ज्यान गएको छ ।

त्यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीन जना, बाफिकोट गाउँपालिका र सानीभेरी नगरपालिकामा एक/एक जनाको चिसोले मृत्यु भएको हो । कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो ।