बाह्रदशी ।
झापाको बाह्रदशी गाउँपालिकामा लागेको पूर्वाञ्चल धार्मिक महामहोत्सवमा भक्तजनहरुको आकर्षण बढेको छ । ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल साधुकुटी (कञ्चनगढ धाम) मा, आयोजित पूर्वाञ्चल धार्मिक महामहोत्सव अन्तरगत श्रीमदभागवत् कथा श्रवण गर्न आउने भक्तजनहरूको उपस्थिति उल्लेखनीय रहेको छ ।
धाम परिसरमा रहेको गौरीशंकर शिवालय गायत्रीस्वरुपाआश्रम एवं गुरुकुलको विकास र प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना भएको धार्मिक महामहोत्सवमा दैनिक तीन हजार भन्दावढी भक्तजनहरू धाम क्षेत्रमा पुग्ने गरेका छन् । राष्ट्र तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त पूज्य ईश्वरकृष्ण महाराजद्वारा दैनिक कथा वाचन भइरहेको श्रीमद भागवत् पुराणमा झापा जिल्लाका विभिन्न स्थानबाट भक्तजन पुराण सुन्ने भक्तजनहरु जानेका गरेका छन् ।
उल्लेखनीय भक्तजनहरूको उपस्थिति हुन थालेपछि पुराण स्थलको पण्डाल भरिभराउ बनेको छ । भक्तजनहरूको चाप बढेका कारण हिजोदेखि पण्डालको उत्तर तर्फको भाग खुला गरिएको छ । पण्डालको क्षमता भन्दा धेरै भक्तजनहरूको आगमन भएपछि करिब १२ हजार स्क्वायर फिटको पण्डाल भरिएर हिजो र आज भक्तजनहरुले पण्डाल बाहिर पनि बस्नु पर्ने अवस्था बनेको छ ।
मंसिर १८ गते देखि सुरु भएको महामहोत्सव २६ गते समापन हुनेछ । महामहोत्सवमा हिजोदेखि भक्तजनहरूको उपस्थिति बाक्लिएको हो । अब दुई दिन सम्म आयोजना हुने पुराणमा उपस्थिति हुने भक्तजनको संख्या दोब्बर हुने आयोजक समितिले अनुमान गरेको छ ।
बालाचर्तुदशीको अघिल्लो दिन मंसिर २५ गते पितृहरूको नाममा महाबत्ती बालेर जाग्राम बस्नको लागि समितिले विशेष तयारी गरिरहेको छ । बालाचर्तुदशी पर्वको दिन साधुकुटीमा भक्तजन तथा आन्तरिक पर्यटकहरूको संख्या लाखौं हुने अनुमान हिजो र आज श्रद्धालुहरूको उत्साहजनक उपस्थितले देखाएको छ ।
बालाचर्तुदशीको दिन धाम परिसरमा रमाइलो मेला पनि आयोजना गरिने भएको छ । हाल कञ्चनगढ धाम परिसरमा धार्मिक रमाइलो मेलाको लागि विभिन्न प्रकारका पिङ र स्टलहरू स्थापना भई सकेको छ । यस वर्ष २६ गते बिहानै लाखौं भक्तजनहरूका माझ नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराज साधुकुटीमा सदवीउ छर्न आउने आयोजक समितिका अध्यक्ष ज्ञानु सुवेदीले बताए ।
अध्यक्ष सुवेदीको भनाई अनुसार बालाचर्तुदशी मेला आयोजनाको लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ । यस वर्ष बाह्रदशीमा वृहत धार्मिक जागरणसमेत आयोजना हुने बालाचर्तुदशी मेलालाई व्यवस्थित रुपमा आयोजना गर्न सयौँको सङ्ख्यामा स्थानीय स्वयं सेवकहरू परिचालन गरिने छ । त्यसैगरी नेपाल प्रहरीलगायत सुरक्षा निकायबाट आवश्यक प्रहरी जनशक्ति परिचालन हुने र धाम क्षेत्रमा शान्ति सुरक्षालाई चुस्त राख्नको लागि धाम परिसरमा दर्जनौं सिसी क्यामरा जडान गरिएको छ । कञ्चनगढ धामलाई हालै पुरातात्विक विभागले सूचीकृत गरेर उत्खनन गर्ने कार्य पनि सुरु गरेको छ ।
कञ्चनगढ साधुकुटी धाम पूर्व पश्चिम मुख्य राजमार्गमा पर्ने बिर्तामोड स्थित चारपानेबाट ७ किलो मिटर दक्षिणमा पर्दछ । विगतको वर्षमा कच्ची बाटोको कारण ठुलो जनघनत्व रहेको बिर्तामोड नगर बासीहरू उल्लेखनीय संख्यामा साधुकुटी पुग्न सकेका थिएन । अहिले भने चारपाने चोकदेखि कालोपत्रे सडक हुँदै साधुकुटी कञ्चनगढ धाम पुग्न सकिन्छ ।