विर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताहरुका नाममा अदालतले पक्राउ पूर्जी जारी गर्न दिएको आदेश विरुद्ध नेकपाले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत नेकपा मेची ब्युरोले झापा, इलाम र पाँचथरमा विरोध प्रदर्शन गरेको छ । घोषित आन्दोलनको तालिका अनुसार बिहीबार देशैभर पार्टी जवस र जनताको उपस्थितिमा झापा लगायत देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको हो ।

मेची ब्युरो अन्तर्गत झापाको विर्तामोड इलामको इलाम बजार र पाँचथर सदरमुकाममा विरोध सहितको जनप्रदर्शन सम्पन्न गरेको छ । नेकपाले पार्टी केन्द्रले घोषणा गरेको तीन दिने संघर्षका कार्यक्रम अन्तर्गत मंगलबार साँझ मशाल जुलुस प्रदर्शन र हिजो न्यायधीसको पुतला दहन कार्यक्रम सम्पन्न गरेको थियो ।

विर्तामोडमा भएको प्रदर्शन तथा कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा मेची व्युरो इन्चार्ज सुमनसिंहले सम्बोधन गरेका थिए भने इलामको सभालाई पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी र जिल्ला इन्चार्ज मौसमले सम्बोधन गरेका थिए । त्यस्तै पाँचथरको कार्यक्रमलाई जिल्ला इन्चार्ज सन्तोष सीले सम्बोधन गरेका थिए ।

विर्तामोडमा भएको सभालाई सम्बोधन गर्दै नेता सिंहले अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक ढंगले पक्राउ पुर्जी जारी गर्नुमा देशीविदेशी शक्ति लागि परेको आरोप लगाउँदै हिम्मत भए मुखुण्डो उतारेर अगाडि आउन चेतावनी दिए । उनले हिजो यो देशमा राष्ट्रघात जनघात लगायत विभिन्न बेथितिहरुका विरुद्ध बलिदानिपुर्ण संघर्ष गर्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी रहेको स्मरण गराउँदै कसैले नेपाल कम्युनिस्ट पार्टी र उसका नेताकार्यकर्ता माथि षड्यन्त्रको जाल फाँक्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । उनले हिजो जनताका हरेक समस्या सँगै पार्टी रहेको र बैंक तथा वित्तीय संस्थाले गरेकोे गैह्रकानुनी हर्कतका विरुद्ध लड्ने पार्टी समेत नेपाल कम्युनिस्ट पार्टी भएको भन्दै देश र जनताको हकहितका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिए ।

यता इलाममा भएको सभालाई सम्बोधन गर्दै नेताद्वय होम सी र मौसम सी ले नेपाल सरकार र नेकपाबिच भएको ३ बुँदे राजनीतिक सहमति विपरित विदेशी प्रतिगामी शक्तिहरुको निर्देशनमा अदालतले २०७६ सालको मुद्दा व्यूताएर युद्धको निम्तो दिन खोजेको भन्दै  प्रतिरोध गर्न सिंगो पार्टीपंक्ति तयार रहेको चेतावनी दिए । उनिहरुले आजसम्म नेकपाले उठाएका राष्ट्र, राष्ट्रियता, जनजीविका र वित्तिय ठगीका मुद्धा सतहमा आइसकेकाले पार्टीले आव्हान मात्र गर्दापनि प्रतिगामी षड्यन्त्र ध्वस्त हुने भन्दै संघर्षरत पार्टीसँग निहुँ नखोज्न चेतावनी दिए ।

यता पाँचथरको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सन्तोष सीले सरकारले तीन बुँदे राजनीतिक सहमतिको उल्लंघन गर्दै पक्राउ पुर्जी जारी गरेर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । सरकारले गरेको निर्णय केटाकेटी  खेलेको खेल जस्तो नभएर यसलाई गम्भीर ढंगले छलफल गरेर समस्या समाधान गर्न र नेपाल कम्युनिस्ट पार्टी सँग निहुँ खोज्ने काम नगर्न चेतावनी दिए ।  विरोध प्रदर्शन कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले पक्राउ पुर्जी जारी गर्ने न्यायाधीश र अदालतका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।