सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका सुरुङ्गास्थित कनकाई खेल मैदानमा मंसीर २३ गते सांगितिक कार्यक्रम हुने भएको छ ।  कनकाई–३ स्थित ग्लोबल एडुकेयर  एकाडेमीको एलकेजीमा अध्ययनरत ब्लड क्यान्सर रोगी कनकाई–२ की ५ बर्षिया बालिकाको सयोगार्थ सांगितिक कार्यक्रम गर्न लागिएको हो । 

अनुप्रस्था फाउण्डेशनको आयोजनामा हुने सांगितिक कार्यक्रमबाट संकलित रकम खर्च कटाएर बालिका मञ्जिला भुजेलको सहयोगार्थ प्रदान गरिने बुधवार सुरुङ्गामा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । आर्थिक अवस्था नाजुक रहेको भुजेल परिवारलाई बालिकाको उपचारमा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी बिमलीले बताए । 

सांगितिक कार्यक्रमको मुख्य आयोजकमा अनुप्रस्था फाउण्डेशन रहेको छ भने सह–आयोजकको रुपमा कनकाई उद्योग बाणिज्य संघ, सुरुवाती कोठा नेपाल, कनकाई मावि, ग्लोबल एडुकेयर एकाडेमी र शुरुवाती कोठा नेपाल रहने अनुप्रस्थाका प्रतिनिधि तथा सांगितिक कार्यक्रमका संयोजक निश्चल खतिवडाले बताएका छन् । उनका अनुसार प्रवेशका लागि रु १००, रु २०० र रु ५०० को टिकट लाग्नेछ । 

सांगितिक कार्यक्रममा नामगेल तामाङको गायन र राजेश बस्नेतको नृत्य प्रस्तुतीसहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । 

बालिकको अडाई महिना अघिदेखि कान्तिबाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ भने अहिलेसम्म करिब ५ लाख खर्च भइसकेको बालिकाका बुबा महेन्द्र भुजेलले बताए । उनका अनुसार बालिकाको उपचारका लगभग २५ देखि ३० लाख रुपैयाँ खर्च हुनेछ । भुजेल परिवार कनकाई–२ मा ऐलानी जग्गामा सामान्य घरमा बस्दै आएको छ । बैदेशिक रोजगारका सिलसिलामा कतारमा रहेका महेन्द्र छोरी बिरामी भएपछि फर्किएका हुन् । पत्रकार भेटघाट कार्यक्रममा सुरुवाती कोठा नेपालका दीपक दास, ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल बिमान लामा, कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगीलगायतको उपस्थिति रहेको थियो ।