काँकरभिट्टा ।
अन्र्तराष्ट्रिय व्यापारको अवस्था बुझ्न नेपाल फ्रेट फरवार्डस् एसोसिएसनले पूर्वी नाका काँकरभिट्टाको अध्ययन तथा अनुगमन गरेको छ ।
ब्यापार घाटा उच्च भइरहेको अवस्थामा अन्य मुलुकसँग आयात–निर्यातको सहजीकरण गर्ने र स्थानीय बजारलाई चलायनमान बनाउने उदेश्य अनुरुप टोली पूर्वी नाका हुँदै भारत तथा बंगलादेश नाकाको अध्ययन तथा भेटघाट गर्न आएको हो । अहिले नेपालको व्यापार घाटा १४–१ रहेको सरकारी तथ्यांक छ । अर्थात आयात १४ प्रतिशत हुँदा निर्यात १ प्रतिशत मात्रै रहेको छ ।
एसोसिएसनको टोलीले मंगलबार काँकरभिट्टामा पत्रकार भेटघाटको आयोजना गरी योजनाका बारेमा जानकारी गराएको छ । बिहान १० बजे मेची भन्सार कार्यालय आइपुगेको टोली बंगलादेशसँगको सीमा नाका फुलबारी र भारतको कलकतासम्म पुग्नेछ । ं९ सदस्यीय टोलीमा उच्चस्तरीय प्रतिनिधि सहभागी छन् ।
मंगलबार नै टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीले नेपालबाट सामान निर्यातमा हुने गरेको झन्झटिलो प्रक्रियाका विषयमा त्यहाँका प्रतिनिधिहरुसँग छलफल पनि गर्ने जनाएको छ । अध्ययनका क्रममा आएका सुझावलाई जस्ताको तस्तै टोलीले सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
अर्थ मन्त्रालय तथा वाणिज्य मन्त्रालयसँग छलफल गरी व्यापार घाटा कम गर्ने उदेश्य राखेर विगतदेखि नै एसोसिएसनले सहजीकरण गर्दै आएको छ । यसअघि सो टोलीले चीनसँग सीमान जोडिएका नाकामा अध्ययन गरेको थियो । अहिले दक्षिण नाकाको अवस्था बुझन् टोली पूर्वतिर आएको एसोसिएसनका प्रशासनिक प्रमुख बिक्रम गजुरेलले जानकारी दिए ।
टोलीले व्यापार प्रवर्धन गर्ने, समस्या भएका नाका परिवर्तन गरी आयात तथा निर्यातमा सहजीकरण गर्ने एसोसिएसन अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । उनले ब्यापार घाटा घटाउन राज्यले नयाँ योजना ल्याउन आवश्यक रहेको समेत बताए ।
नाका अध्ययन तथा अनुगमन टोलीमा एसोसिएसनका अध्यक्ष अधिकारी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेशकुमार अग्रवाल, सचिव ईश्वरबहादुर गुरुङ, कोषाध्यक्ष हरिप्रसाद ढकाल, सह–कोषाध्यक्ष सुजनकुमार न्यौपाने, कार्यसमिति सदस्य सञ्जिव अर्याल, सीता अधिकारी, गोपालबहादुर राय, गंगाराम पुडासैनीलगायत रहेका छन् । पत्रकार भेटघाट कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टाका कार्यवहाक प्रमुख गणपति कँडेल, भन्सार एजेन्ट शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।