झापा ।
जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधको कुलतमा फसेकालाई प्रशिक्षण दिएको छ । झापाको भद्रपुर नगरपालिका ८ स्थित जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा ४५ जना लागुऔषधको कुलतमा फसेकाहरुलाई प्रशिक्षण दिइएको हो ।
लागूऔषधको कुलतमा फसेका उनीहरुलाई आइतवार मनोपरामर्श र पुनःसामाजिकीकरण अभियान २०८० अन्तर्गत प्रशिक्षण दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरी र प्रहरी नायव निरीक्षक सुवास मिश्रले लागू औषधको असर र प्रभाव साथै कसुर, सजाय लगायतको बिषयमा प्रशिक्षण दिदै अनुभव आदान–प्रदान गरेका हुन् ।
साथै पुन स्थापना सुधार केन्द्र काँकरभिट्टाका केन्द्रका सञ्चालक संदिप थापा र भिम लुईटेलले उत्प्रेरणा बढाउने भनाईहरु समाबेश गरी मनोरञ्जनात्मक विधिबाट प्रशिक्षण गराएका थिए ।