झापा ।
झापाका दुई वटा पालिकामा आगलागी हुँदा तीन लाख ५६ हजार रुपैयाँको क्षति भएको छ । झापाको कचनकवल गाउँपालिकामा भएको आगलागीमा ५६ हजार र मेचीनगर नगरपालिकामा लागेको आगलागीमा तीन लाख रुपैयाँको क्षति भएको हो । आज (शनिबार) दिउँसो कचनाकवलमा १ः३० र मेचीनगरमा १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कचनाकवल–१ स्थित दिलसरी गणेशले आफ्नै खेतको पराल र नरुमा आगो लगाई डढाउने क्रममा आगलागी भएको हो । उक्त आगो सल्केर नजिकै रहेको सोही स्थानका देबनारायण राजबंशीले थैसर लगाई भेला गरी राखेको धानमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी घेराबारीमा जानकारीपछि प्रहरीको टोली गएर स्थानिय बासी र प्रहरीको सहयोगमा १ः४० बजेको समयमा पूर्ण रुपमा आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ । उक्त आगलागीबाट मानबिय र चौपाया क्षति नभएको र आगलागी बाट राजबंशीको अन्दाजी ३५ मन धान र पराल गरी ५० हजार बराबरको सोही स्थानका राजेश राजबंशीको ५ मन धान ६ हजार रुपैयाँ छ हजार बराबरको जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै झापा मेचीनगर ९ मागुरमाडीका टंकप्रसाद उप्रेतीको घर नजिकैमा रहेको ५ बिगा खेतमा लगाएको धानसहितको चार वटा परालको कुन्युमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी प्राप्तसँगै तत्काल प्रहरी टोली र मेचीनगरको दमकल र स्थानियबासीहरुको सहयोगमा २ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । उक्त आगलागीबाट धानसहितको परालको कुन्यु पूर्ण रुपमा जलेर नष्ट भएको साथै घरको पूर्वपट्टी रहेको एक वटा झ्यालको शिशा समेत फुट्दा तिन लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आगलागीबाट मानबिय तथा चौपायको भने क्षति नभएको प्रहरीले जनाएको छ ।