झापा ।

 राष्ट्रपति रामचन्द्र  पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उनकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उनको झापास्थित निवासमा पुगेर हस्तान्तरण गरेका हुन् । 

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा भनिएको छ ‘लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक–पटक सहभागी भएर जेलनेल र यातना भोगेका पूर्णानन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता थिए । लोकतन्त्रप्रति समर्पित पूर्णानन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’

राष्ट्रपति पौडेलले पञ्चायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालीन अवस्थामा दमक हाइस्कूलका प्रधानाध्यापक रहेका पूर्णानन्द शर्माले गरेको सहयोगको स्मरण पनि गरे ।

झापाको कमल गाउँपालिका वडा नं– ६ मा स्थायी रूपमा बस्दै आएका शर्माको सोमबार साँझ उपचारको क्रममा पुर्णटुङ्ग विर्तासिटी अस्पतालमा निधन भएको थियो । प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा विभिन्न समयमा पक्राउ परेका उनको ५ वर्षभन्दा बढी जेलजीवन विताएका थिए । 

शर्माले पञ्चायत कालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलनेलको यातना भोग्नुपरेको थियो । २०४२ सालमा नेपाली कांग्रेस झापाको सभापति बनेका उनको सिके प्रसाई सभापति रहँदा पार्टी सचिवको जिम्मेवारीमा थिए ।