सुरुङ्गा । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम बिहीवार (आज) सम्पन्न  भएको छ ।

महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले नगरपालिका दुई दिने कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख टीका खतिवडाले जानकारी दिइन् । 

कार्यक्रममा कनकाई–१ का १६ वटा महिला समूह र १६ वटा टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको  सहभागिता रहेको थियो । पहिलो दिनको प्रशिक्षण इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्की र दोस्रो दिनको प्रशिक्षण अधिवक्ता तारा बारकोटीले  दिएका थिए । 

कार्यक्रममा नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी, शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, वडा नं. १ का अध्यक्ष सुशील कुमार पोखरेल, वडा सदस्य  दलबहादुर थापा, सहजीकरण महिला समूहकी अध्यक्ष लीला प्याकुरेल, वडा सदस्य संगीता ल्वागुन घतानी, वडा सदस्य हरिकुमार राई लगायतले लैंगिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । 

नगर उपप्रमुख शिवाकोटीको अध्यक्षतामा सम्पन्न  कार्यक्रमा वडा सदस्य निर्मला खड्काले स्वागत र सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गरेकी थिइन् । कनकाईमा २/३ दिन भित्रैमा  वडा न ५ र ८ मा यस्तो प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिने  कर्मचारी विजय पाठकले जानकारी दिए ।