सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम शुरु भएको छ । नगरले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम शुरु गरेको हो । 

महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले नगरपालिकाको सभाहलमा बुधवार (आज) कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा प्रदान गरिने महिला तथा बालबालिका शाखाकी प्रमुख टीका खतिवडाले जानकारी दिइन् ।

कार्यक्रममा कनकाई–१ का महिला समूह र १६ वटा टोल विकास समितिका अध्यक्ष एवम् प्रतिनिधि सहभागिता रहेको छ । दुई दिवसीय प्रशिक्षण कार्यक्रमको प्रशिक्षण इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्कीले दिने छन् । कार्कीले प्रशिक्षण कार्यक्रममा अधिकांश लैंगिक हिंसाका घटना घरपरिवार,आफन्तबाटै हुने गरेको बताए। कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको बताइन् । उनले महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरिन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, वडा नं. १ का कार्यवाहक वडाध्यक्ष दलबहादुर थापा, सहजीकरण महिला समूहकी अध्यक्ष लीला प्याकुरेल, वडा सदस्य संगीता ल्वागुन घतानी, वडा सदस्य हरिकुमार राई लगायतले शुभकामना मन्तव्य राख्दै लैंगिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । वडा सदस्य निर्मला खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गरेकी थिइन् । 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मुख्यत महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै लैङ्गिक समानता र सामाजिक न्यायका पक्षमा कार्यक्रमहरु केन्द्रित हुने गर्दछन् ।