सुरुङ्गा ।
ब्रेन ट्युमर भएर उपचाररत झापाको कनकाई नगरपालिका वडा नम्बर ३ संगमचोकस्थित चारआलीका १३ बर्षिय सुशन विश्वकर्मा (लकान्द्री) को उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले सवैमा अपिल गरेको छ ।
आर्थिक अवस्था नाजुक भएको विश्वकर्मा परिवारले सुशनको उपचारमा २०-२५ लाख रुपैयाँ खर्च भइसकेको र अझै १० लाखवढी रुपैयाँ खर्च लाग्ने भएकाले सहयोगका लागि सवैमा आग्रह गरेको हो ।
दुई छोरी र तीन छोरा मध्ये कान्छा छोरा सुशनको गत चैतदेखि बिरामी परेर उपचार गरिरहेको आमा बिमला विश्वकर्माले बताइन् । ब्रेन टुमर पहिलो स्टेजकै भएकाले उपचाररत सुमनको अवस्था सुधार भइरहेको भएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको आमा बिमलाले बताइन् । सुशन कनकाई–३ को देवकोटा एजुकेशन फाउण्डेशनमा कक्षा–७ मा अध्ययनरत बिद्यार्थी हुन् ।
आफन्त र सहयोगी मनका धनी साथै ऋणपान गरेर २० देखि २५ लाख रुपैयाँ खर्च गरेको बताउँदै आमा बिमलाले भनिन् ‘थप उपचारका लागि लाग्ने खर्च जुटाउन सक्ने अवस्था छैन ।’ भरतपुर क्यान्सर अस्पतालमा उपचारत छोराको उपचारमा सहयोग पुर्याइदिन आमा बिमलाले सम्पूर्णमा अपिल गरेकी हुन् । छोराको उपचारका लागि सहयोगी मनका धनीबाट २ देखि २ लाख ५० हजार रुपैयाँ जती सहयोग प्राप्त भएको बताउँदै थप उपचारका लागि आर्थिक सहयोग गरेर छोराको ज्यान बचाइदिन आमा बिमलाले सवै समक्ष अनुरोध गरेकी छिन् ।
बिरामी सुशनका बुबा ठगप्रसाद विश्वकर्मा पनि प्रेसर तथा सुगरका कारण बिरामी रहेको बिमलाले बताइन् । सानो कपडा पसल गरेर घर खर्च चलाउँदै आएकी बिमलाको छोरो सुशन बिरामीसँगै घरपरिवार चलाउन समस्या हुँदै आएको छ ।
संगमचोकस्थित चारआलीमा रहेको १० धुर जग्गामा बनेको सामान्य घरमा जनमन गरेर जिविको पार्जन गर्दै आएको विश्वकर्मा परिवारको दहनीय अवस्था भएकाले सवैले सकेको सहयोग गरिदिन सामाजिक ब्यक्तित्व शेरबहादुर थापालेसमेत आग्रह गरेका छन् ।
देश तथा बिदेशमा रहेका सम्पूर्णलाई छोराको उपचारमा आर्थिक सहयोग गरिदिन आमा बिमलालले आग्रह गरेकी छिन् । सहयोग गर्न चाहनेले नेपाल बैंक लिमिटेड सुरुङ्गा शाखामा बिरामी सुशनका दाजु समिर कामीको नाममा रहेको खाता नम्बर १४७०१००७२२००३२०००००१ मा सहयोग गर्न सकिने छ भने फोन नम्बर ९८०१४६१६९७ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ ।