धनकुटा ।

धनकुटा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले सोमबार र मंगलबार दुई दिन सार्वजनिक बिदा दिएको हो ।

मुख्य गरी धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएको उनले बताएका छन् । सोही अनुसार यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णयभएको उनले बताए । 

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगर क्षेत्र भित्रका नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वडाङ्मेट पर्व मनाउँने गरेका छन् ।