चारआली । 

झापाको मेचीनगर–१२ सहरेडाँगी स्थित पञ्चवटी वीरभद्र महाकाली धाममा महायज्ञ आयोजना हुने भएको छ । धामको आयोजनामा आगामी मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको हो । मुल आयोजक समितिले मन्दिर परिसरमा शुक्रवार (आज) पत्रकार सम्मेलन गरी महापुराणको तयारी बारे जानकारी दिइएको हो । 

महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने मुल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढावा दिने, कोष स्थापना गर्ने उद्देश्यले पुराणको आयोजना गर्न लागिएको आयोजिक समितिका अध्यक्ष गिरीले बताए ।

puran1

मन्दिरका यी सवै कार्यका सम्पन्न गर्न करिब एक करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने पुराण प्रचार–प्रसार समितिका संयोजक तथा मुल आयोजक समितिका सचिब प्रेमराज घिमिरे बताए । पुराणको माध्यमबाट थोरबहुत आर्थिक सहयोग संकलनसँगै धार्मिक कार्यक्रम गर्न पुराण आयोजना गर्न लागिएको उनले जानकारी दिए । 

करिब एक करोड संकलन गर्ने लक्ष्य राखिएको महापुराणका लागि २० देखि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । दैनिक २ हजार भक्तजन आउने आयोजकको अपेक्षा छ । २०७२ सालमा मेचीनगर–१२ का रविन्द्र प्रसाईं, गंगादेवी, लक्ष्मी प्रसाईंले उनका मातापिता÷ सासुससुरा यशोदा र अभिचन्द्र प्रसाईंको स्मृतिमा मन्दिर निर्माण गरिएको हो । उनीहरुले मन्दिरको नाममा २ कठ्ठा ३ धुर जग्गा दान दिएकोमा सपर्ट नापीबाट जग्गा थप भई हाल मन्दिरको ६ कठ्ठा ५ धुर जग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईंले बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललगायतले सञ्चार क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, पुराण आयोजक समितिका पदाधिकारी एवम् धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।