काठमाडौं ।
काठमाडौंमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित छन् भने मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेतसहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन् ।
प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा ड्रोनबाटसमेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ । युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् ।