धनकुटा ।

धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका वडा नम्बर १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् ।

टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो । त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आत्महत्या जस्तो देखिएको प्रहरीले जनाएको छ ।