अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकाका एकसय १५ जना जेष्ठ नागरिकलाई सुधारिएको चुलो र लौरो वितरण गरिएको छ । अर्जुनधारा नगरपालिकाको आयोजनामा सोमवार (आज) नगरमा आयोजित एक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई सुधारिएको चुलो र लौरो वितरणसहित आवधिक नगर विकास योजना हस्तान्तरण गरिएको हो ।
सभामुखको सचिवालयको समन्वयमा नगरका एकसय १५ जना जेष्ठ नागरिकलाई लौरो उपहार तथा नगरपालिकाद्धारा सुधारिएको चुलो वितरण गरिएको हो ।
नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि देवराज घिमिरेले जेष्ठ नागरिकलाई चुलो र लौरो उपहारसहित आवधिक नगर विकास योजना हस्तान्तरण गरेका थिए ।
आवधिक नगर विकास योजना पुस्तकका लागि नगरले अघिल्लो आर्थिक बर्षमा ४० लाख रुपैयाँ बजेट छुट्याउँदै आएपनि कार्य सम्पन्न भएको थिएन । नगरबासी भएको नाताले आफ्नो उत्तरदायित्व पूरा गर्दै सभामूख घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेलले आवधिक नगर विकास योजना पुस्तक प्रकाशन गरेका र आज हस्तान्तरण गरिएको जनाइएको छ । आवधिक नगर विकास योजनाका लागि नगरले छुट्याएको बजेट शनिश्चरे बजारको सार्वजनिक शौचालय निर्माण लागि खर्च गरिएको थियो ।
स्वागत नगरकी उपप्रमुख खड्गमाया पराजुलीले गरेको कार्यक्रममा संविधानसभाका सदस्य प्रेम गिरी, प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, नगरकी पूर्व प्रमुख प्रशासकीय अधिकृत गिताकुमारी राईलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलचन रिमाल, नगरका जनप्रतिनिधि, बिभिन्न पार्टीका झापा प्रमुख तथा प्रतिनिधि, नगरका प्रमुख तथा प्रतिनिधि, नगरका बिभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए ।