बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अधुवा खोला छठ पर्वको मुख्यदिन आज (आइतवार) बिविध कार्यक्रम गरी मनाइदै छ । पाथिभरा छठ पूजा समितिको आयोजनामा शुक्रवारदेखि शुरु भएको छठ पूजाको मुख्यदिन आज सांस्कृतिक कार्यक्रमसहित भजनकिर्तन गरेर मनाइने भएको हो ।
परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्व शुक्रवारबाट शुरु भएको थियो । बिशेष गरेर बिर्तामोड–१ र ५ का ब्रतालुहरुको सहभागीता रहने उक्त स्थानमा एक सय घाट तयार गरिएको पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहले जानकारी दिए । छठ पूजाको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गरिने स्थानीय जीवन साहले जानकारी दिए ।
अध्यक्ष साहका अनुसार छठ पूजाको मुख्यदिन आज साँझ बिभिन्न भजन किर्तन समुहद्धारा भजनकिर्तन प्रस्तुत हुनेछन् । समितिका अध्यक्ष बिनोद साहको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बिर्तामोड–वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेलेउद्घाटन गरेका छन् ।
स्वागत समितिका सदस्य सुरेश गुप्ताले गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार बालकृष्ण दाहालले गरेका थिए । कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, एमिटी कलेजका प्रिन्सिपल आरएस ढकाल, न्युटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र गुमागाई, चेतामणि खनाल, रामलोचन न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।
ब्रतालु तथा श्रद्धाजु भक्तजनहरुलाई छठ पूजामा सहभागीताका लागि आयोजक समितिले आग्रह समेत गरेको छ । पूजा सम्पन्न गर्न २ लाख ५० हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा आरधना गरी भोली (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत रुपमा समापन हुने गरेको छ ।