बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजारस्थित अधुवा खोलामा छठ पूजाको मुख्यदिन भोली आइतवार बिबिध कार्यक्रम गरी छठ पर्व मनाइने तयारी गरिएको छ ।
श्री नेपाल मधेशी समाज सेवा समितिले शनिवार (आज) पत्रकार भेटघाटको आयोजना गरी मुख्य दिन आइतवार गरिने छठ पूजा तथा कार्यक्रमको तयारीका बिषयमा जानकारी गराएको हो ।
श्री नेपाल मधेशी समाज सेवा समितिको आयोजनामा हुने उक्त छठ पूजाका लागि २०२ पण्डाल तयार गरिएको अध्यक्ष रामेश्वर मण्डलले बताए । उनका अनुसार ५०÷६० बर्ष अघिदेखि सो स्थानमा छठ पूजा गरिदै आएको छ ।
मुख्यदिन आइतवार मृगौला रोगी तथा समाजका सदस्य समुन्द्र माझी बचाउ अभियान अन्तरगत आर्थिक संकलनसमेत गरिने छठ पूजा समितिका संयोजक संजयकुमार शर्माले जानकारी दिए । त्यस्तै सांस्कृतिक कार्यक्रमसहित सेक्युरिटी गार्ड, चियापानी, दूध र निःशुल्क स्वास्थ्य जाँचको समेत ब्यवस्था गरिएको जनाइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा सेवा समितिका सचिव शम्भू साह, सह–सचिव प्रकाश महतो, सदस्य दिलिप सिंहलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्थलमा भोलीको कार्यक्रमका लागि धमाधम कार्य भइरहेको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित ६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।
तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ दिएर दिने गरिन्छ उक्त दिनलाई सौझकारक पनि भनिन्छ भने सोमबार बिहान उदाउँदो सूर्यको अर्घ दिएर छठपर्व समापन हुने गरेको छ ।