झापा ।
छठ पर्वको दोस्रो दिन शनिवार (आज) खरना मनाइने गरिन्छ । आदिदेव सूर्यको उपासना गरी नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने परम्परा रहि आएको छ ।
दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाका साथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरणसमेत गरिने चलन छ ।
सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।
तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ दिएर दिने गरिन्छ उक्त दिनलाई सौझकारक पनि भनिन्छ भने सोमबार बिहान उदाउँदो सूर्यको अर्घ दिएर छठपर्व समापन हुने गरेको छ ।