झापा ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व शुक्रावर (आज) देखि विधिवत रुपमा शुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भनिने गरिन्छ । 

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत रुपमा समापन हुने गरेको छ । । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अर्घको रुपमा चढाउने चलन छ ।

अर्घ दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

तराई मधेशपासी अहिले पूर्ण रुपमा छठपर्वको तयारीमा व्यस्त छन् । छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइएको छ ।

झापाको कनकाई माई नदी, मेची खोला, बिरिङल, अधुवा खोलालगायतका ठूला खोला तथा नदी र अन्य बिभिन्न साना ठूला तलाउ, पोखरी, नदी र खोला किनारमा छठ पूजा गर्नका लागि घाट तथा पण्डाल बनाइएको छ भने उक्त स्थानलाई सजाइएको छ । 

छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व आजभोली पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।