सुनसरी । 

सुनसरी र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बु र सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवाडा रहेका छन् । 

सुनसरीको धरान उपमहानगरपालिका–६ मालपोत चोकमा बुधबार राति भएको दुर्घटनामा लिम्बुको मृत्यु भएको हो भने तीन घाइते भएका छन् । सो दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् । को २ ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो । टेम्पोका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बा २७ प ८७०१ नं को मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका खतिवाडाको बुधबार निधन भएको छ ।  खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।