झापा ।

यमपन्चक अर्थात तिहारको मुख्य दिन बुधवार (आज) भाइटीका उत्तम साइत १० बजेर ५१ मिनेटमा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्ने गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा पनि मनाउने गर्छन् ।