झापा।

झापामा राती १० बजेसम्म देउसी भैलो खेल्न दिने जिल्ला प्रशासन कार्यालय झापाले निर्णय गरेको छ । तर, काठमाडौं, भक्तपुर र ललितपुरमा भने रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समिति काठमाडौंले भक्तपुर र ललितपुरमा भने रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरेको हो । 

उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे छलफल भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार इच्छुकले आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ ।