बिर्तामोड ।
नेकपा (माओावादी केन्द्र) जिल्ला समन्वय समिति झापाले बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक नगेन्द्रप्रसाद संग्रौलाले नेकपा माओवादी केन्द्रप्रति पूर्वाग्रह राखेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बिर्तामोडमा शनिबार(आज) पत्रकार भेटघाट गरी माओवादी केन्द्रले न्यायिक समिति संयोजक संग्रौलाले कानुन र प्रमाणका आधारमा न्याय सम्पादन गर्नुपर्नेमा राजनीतिक पूर्वाग्रह राखेर संग्रौलाले पार्टीका बिर्तामोड नगर समिति अध्यक्ष मोहन सुब्बा र सिंगो पार्टीप्रति मिथ्या आरोप, धम्की र अश्लिल गाली गलौज गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
माओवादी केन्द्रले विज्ञप्तिमार्फत १६ बर्ष अघिको लेनदेनको बिषयलाई लिएर नियोजित प्रमाण विहिन र झुटा आरोप लगाएर संग्रौलाले राजनीतिक प्रतिशोधको भावनाले गरेको गलत हर्कतको पार्टीले घोर भत्र्सना गरेको छ । टेलिफोनमा भएको व्यक्तिगत संवाद सञ्चारमाध्यमलाई उपलब्ध गराएर पार्टी नेताको चरित्रहत्या गरेको जनाउँदै माओवादी केन्द्रले पदीय मर्यादा र जिम्मेवारी भुलेर पूर्वाग्रही ढंगले कपोकल्पित, भ्रामक र प्रमाणहिन अभिव्यक्ति नदिन उपप्रमुख संग्रौलालाई चेतावनी दिएको छ ।

‘हाम्रो पार्टी र नगर अध्यक्ष उपर संग्रौलाले लगाएका मिथ्या आरोपलाई पुष्टि गर्न समेत चुनौती दिन्छौँ । नगर अध्यक्ष मोहन सुब्बा र सिङ्गो पार्टीप्रति लुटेरासम्मको आरोप लगाउँदै भाटा हान्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिँदै गए पार्टीले कानुनी कारबाही गर्नेसमेत यसै विज्ञप्तिमार्फत सूचित गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै नगर अध्यक्ष मोहन सुब्बाले अहिले सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो लेनदेन नभएको बताए । सुब्बाले १६ बर्षअघि पिडित भनिएका महिलाको श्रीमानलाई जग्गा बिक्रीमा सहयोग गरेबापत उनले खुशी साथ आफै सामान्य चिया खर्च दिएको र अहिले आएर त्यसलाई राजनीतिक मुद्धा बनाई चरित्र हत्या गर्न खोजिएको गुनासो गरे । उनले आफुलाई प्रमाण पुर्याएर दोषी ठहर गरे जस्तो सुकै कानुनी सजाय भोग्न तयार रहेकोसमेत बताएका छन् ।


















