झापा ।
नेपाली हिन्दुहरूको दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
आज कागलाई पूजा गरी मीठा खानेकुरा खान दिने साथै विशेष गरी दही भात खुवाए उत्तम हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो खान दिएर खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ । कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको हो ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।