भद्रपुर । 

हिन्दूहरुको महान दोस्रो पर्वको रुपमा रहेको तिहार नजिकिँदै जाँदा झापाको भद्रपुरमा दशकौंदेखि आयोजना हुँदै आएको कालीपूजाको तयारी गरिएको छ । भद्रपुर वार्ड नं ५ र ६ को संगमस्थल सिकन्दर मार्केटमा ६ दशकअघि शुरु गरिएको काली पूजाको तयारी तीव्र बनाइएको हो ।

यस वर्ष फरक र थप आकर्षक ढंगले पूजाको तयारी गरिएको आयोजक सार्वजनिक काली पूजा समितिले जनाएको छ । समितिले यस वर्ष आकर्षक पण्डाल निर्माण गरेको छ भने पूजास्थल वरिपरि झण्डै एक किलोमिटरसम्म आकर्षक लाइटिङको व्यवस्था गरिएको समितिका सदस्य मानष घोषले जानकारी दिए ।

धरहरा स्वरुपमा निर्माण गरिएको पण्डाल नेपालमै पहिलो भएको सदस्य सञ्जय घोषले दावी गरेका छन् । उनका अनुसार धरहराको बाहिर–भित्र आकर्षक लाइटिङको व्यवस्था गरिनेछ । ६५ वर्षअघि कालीपूजा गर्न थालिएको सिकन्दर मार्केटमा अहिले युवाहरुले सो पूजालाई निरन्तरता दिएको समितिका संयोजक देवु पकुवालले बताए ।

लक्ष्मीपूजाको दिन आइतबार विधिपूर्वक पूजाआजा गरी सुरु हुने कालीपूजा अन्तर्गत गोवद्र्धन पूजाको दिन मंगलबार बेलुकी विशेष समारोह गरिने जनाइएको छ । सो दिन भारतको चर्चित सांगीतिक व्याण्ड डाइनामिक म्युजिकको आकर्षक प्रस्तुति रहने छ भने सेक्सोफोन संगीतका कलाकारले पनि प्रस्तुति दिइने बताइएको छ । काली पूजा सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।